माओवादीको प्रदेश १ अध्यक्षमा नेम्बाङ (मिक्सो) विजयी

Spread the love

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत रहेका नेम्बाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश)ले ६४ मत मात्रै पाए।

तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११ ) विजयी भएका छन् । एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

 जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । पदाधिकारी चयन गर्न सर्वसम्मतिको प्रयास गरेपनि नमिल्ने भएपछि बुधबार राति चुनाव भएको हो ।

प्रदेश कमिटीका २५९ सदस्यहरूले २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा विजयी पदाधिकारीलाई माओवादी नेता राम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।