कांग्रेस प्रदेश–२ को नया नेतृत्व चयनका लागि मतदान सुरु

Spread the love

जनकपुरधाम : नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । 

निर्वाचन समितिले बुधबार नै मतदान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । तर, मतपत्र छपाइलगायत तयारी पूरा नहुँदा आजका लागि सारिएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको समितिका सदस्य विनय सिंहले जानकारी दिए ।

प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।

प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा छन्।

यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी  भनेका छन् भने सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव प्रतिस्पर्धामा छन् । 

कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनाल उम्मेदवार भने महामन्त्रीमा नरेश यादव र हरेस यादव चुनावी मैदानमा छन् ।

यस्तै सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवार छन् ।

जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ। पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये ५ जना सदस्य बुधबार नै निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचन समितिका अनुसार ४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ । १९८० मतदाताले नयाँ नेतृत्व चयन गर्दैछन् ।