काठमाडौं साउन। नेपालमा पर्यटकीय सम्भावना देखेर स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेलमा धमाधम अर्बौं रुपैयाँ लगानी गरेका छन्। पछिल्लोपटक अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटेल’ सञ्चालन गर्ने गरी सिजी हस्पिटालिटी ग्लोबलसँग सम्झौता गरेको छ। ३० देशमा एक सयभन्दा आठ बढी होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको रिट्ज–कार्लटन ब्रान्ड नेपालमा अवसर देखेर यहाँ आएको हो।
नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपसँगको साझेदारीमा करिब १५ अर्ब रुपैयाँ लगानीमा ठमेलमा रिट्ज–कार्लटन काठमाडौं निर्माण सुरु भएको छ। चौधरी ग्रुपसँग मिलेर निर्माण गर्न लागिएको उक्त होटेलमा एक सय ५० कोठासहित अल्ट्रा लक्जरी होटेल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स, क्यासिनो रहने छन्।
ठमेलमा नौ रोपनी जग्गामा विकास भइरहेको यो परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर छ। त्यसैगरी चौधरी ग्रुपले ‘द वेस्टिन काठमाडौं होटेल’ निर्माण गर्न पनि म्यारिअट इन्टरनेसनलसँग सम्झौता गरेको छ। यो पनि पाँच तारे होटेल हो।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार होटेल तथा आतिथ्य क्षेत्रमा पाँच खर्ब ४३ अर्ब रुपैयाँ लगानी छ। यो दुई वर्षअघिको सर्वेक्षण हो। त्यसयता होटेल क्षेत्रमा करिब एक खर्ब बढी लगानी थपिएको छ। पर्यटन विभागका अनुसार नेपालको होटेल क्षेत्रमा करिब साढे ६ खर्ब बढी लगानी पुगेको छ। मुलुकमा वार्षिक करिब १२ लाख विदेशी पर्यटक आएका छन्। आन्तरिक पर्यटन पनि बढेको छ। नेपालीमा घुम्ने संस्कृति ह्वात्तै वृद्धि हुँदा आन्तरिक पर्यटन प्रवर्धन विस्तार भएको छ।
पर्यटकीय अवसर बढेकाले होटेलमा धमाधम लगानी बढेको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताए। ‘अर्बौ रुपैयाँ स्वदेशी तथा विदेशी लगानीमा तारे होटेलहरू थपिएका छन्,’ लामिछानेले भने, ‘यस क्षेत्रमा करिब साढे ६ खर्ब रुपैयाँ बढी लगानी पुगेको अनुमान गरेका छौं।’ नेपालमा अन्तर्राष्ट्रिय होटेल ब्रान्डको उपस्थिति निरन्तर विस्तार हुँदै गएको छ।
‘पोखरा होटल क्षेत्रमा मात्र हरेक वर्ष लगानी बढिरहेको छ। विदेशी होटेल कम्पनीसँगको व्यवस्थापन साझेदारी तथा प्रत्यक्ष र अप्रत्यक्ष विदेशी लगानीका कारण पाँचतारे होटेल क्षेत्रमा नयाँ परियोजना थपिने क्रम पनि बढ्दै गएको छ। स्वदेशी लगानीकर्ताले पनि पर्यटन क्षेत्रमा धमाधम लगानी गरेर होटेल निर्माण गरिरहेका छन्।
नेपालका होटेलसँग करिब ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएको होटेल संघ नेपालले जनाएको छ। करिब ४० लाख पर्यटकलाई स्तरीय सेवा दिने होटेलमा लगानी रहेको होटेल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। ‘अर्बौं लगानीमा स्तरीय होटेल निर्माण भइरहेका छन्,’ उनले भने, ‘अब सरकारले विदेशी पर्यटक ल्याउन सहयोग गर्नुपर्छ।’
भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भए भए धेरै पर्यटक आउने उनले बताए। चीन र भारतका पर्यटक ल्याउन सके पर्यटन क्षेत्रले ठुलो फड्को मार्ने शाहको दाबी छ। सरकारले खाका तयार गरेर पर्यटक आकर्षित गर्ने योजना ल्याउनुपर्ने व्यवसायीको माग छ।
काठमाडौंबाट तराई जोड्ने फास्ट ट्र्याक निर्माण सम्पन्न भएपछि भारतीय पर्यटकको आगमन ह्वात्तै बढ्ने पर्यटन विभागका महानिर्देशक लामिछाने बताउँछन्। ‘अहिले पनि पर्यटकीय सिजनमा पोखरा र मुक्तिनाथमा भारतीय पर्यटक भरिभराउ हुन्छन्,’ उनले भने।
नेपालमा अन्तर्राष्ट्रिय चेन होटेल सञ्चालन भएकाले विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ। अवसर देखेर नै विदेशी तथा स्वदेशी लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गरिरहेका छन्। अहिले नेपालमा हायात, मेरियट, हिल्टन र र्याडिसन जस्ता विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय होटेल ब्रान्ड सञ्चालनमा छन्। यस्तै द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं जस्ता अति–लक्जरी होटेल निर्माणको चरणमा छन्। यी परियोजनाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको होटेल गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा छ।
नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिएका होटेलमध्ये हायात रिजेन्सी काठमाडौं पाँचतारे होटेलमध्ये पुरानो एक हो। अमेरिकी होटेल कम्पनी हायात होटेल्स कर्पोरेसनको ब्रान्डमा सञ्चालित यस होटेलको व्यवस्थापन हायातले नै गर्दै आएको छ। बौद्धस्थित यो होटेललाई नेपालमा अन्तर्राष्ट्रिय होटेल ब्रान्ड भित्र्याउने सुरुआती परियोजनामध्ये एक मानिन्छ।
यस्तै नक्सालस्थित काठमाडौं मेरियट होटेल अमेरिकी होटेल कम्पनी मेरियट इन्टरनेसनलको ब्रान्डअन्तर्गत सञ्चालनमा छ। त्यसैगरी काठमाडौंमै सञ्चालनमा रहेको हिल्टन पनि अन्तर्राष्ट्रिय ब्रान्ड होटेलको सूचीमा पर्छ। शंकर समूहको लगानीमा निर्माण भएको यो होटेल हिल्टन इन्टरनेसनलको व्यवस्थापन र ब्रान्डअन्तर्गत सञ्चालन भइरहेको छ।
नेपालमा लक्जरी होटेल बजार विस्तार गर्ने उद्देश्यका साथ द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं निर्माणाधीन छन्। यी होटेल सिजी हस्पिटालिटी, आइइजी समूह, आइजे समूह र शर्मा एन्ड कम्पनीको साझेदारीमा विकास भइरहेका छन्।
उद्योग विभागका अनुसार होटेल तथा पर्यटन क्षेत्रमा विदेशी लगानी मुख्यतः अमेरिका, भारत, चीन, हङकङ, सिंगापुर, दक्षिण कोरिया, जापान, बेलायतलगायतका देशबाट भित्रिएको छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय होटेल ब्रान्डको आगमनसँगै पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँको लगानी थपिएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड होटेलको विस्तारले उच्च खर्च गर्ने विदेशी पर्यटक आकर्षित गर्न, रोजगारी सिर्जना गर्न, विदेशी मुद्रा आर्जन बढाउन तथा नेपाली होटेल उद्योगको सेवा, व्यवस्थापन र आतिथ्यको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२३/२४ अनुसार नेपालमा आवास तथा खाद्य सेवा क्षेत्रमा सञ्चालनमा रहेका प्रतिष्ठानको संख्या एक लाख ४२ हजार २२३ र होटेलको संख्या १२ हजार १२३ छ। त्यसयता पनि होटेल थपिएका छन्।
नेपालमा हाल एकदेखि पाँचतारेसम्मका तीन सय ५० बढी होेटेल सञ्चालनमा छन्। पर्यटन विभागको आर्थिक वर्ष २०८१/८२ को वर्गीकरणअनुसार तीनवटा पाँचतारे डिलक्स, २८ वटा पाँचतारे, ४० वटा चारतारे, ३७ वटा तीनतारे, ४९ वटा दुईतारे र ४४ वटा एकतारे होेटेल सञ्चालनमा छन्। चालु आर्थिक वर्ष २०८२/८३ मा पनि केही होटेल थपिएका छन्। अधिकांश उच्चस्तरीय होेटेल काठमाडौं उपत्यका, पोखरा र लुम्बिनी क्षेत्रमा छन्।
पाँचतारे डिलक्स श्रेणीमा होटेल याक एन्ड यति, द सोल्टी काठमाडौं र काठमाडौं मेरियट होटेल छन्। यी तीनै होटेल काठमाडौंमा सञ्चालनमा छन् र विदेशी पर्यटक तथा उच्चस्तरीय सम्मेलनका प्रमुख गन्तव्यका रूपमा परिचित छन्। पाँचतारे श्रेणीमा हायात रिजेन्सी काठमाडौं, हिल्टन काठमाडौं, र्याडिसन होटेल, होटेल बाराही काठमाडौं, होटेल हिमालय, होेटेल सांग्रिला, द एभरेस्ट होटेल, होटेल माउन्टेनलगायत काठमाडौं उपत्यकामा सञ्चालनमा छन्। काठमाडौंबाहिर होटेल पोखरा ग्रान्ड, फिस्टेल लज र टेम्पल ट्री रिसोर्ट एन्ड स्पा पोखरामा, टाइगर प्यालेस रिसोर्ट र सिद्धार्थ भिलासा रुपन्देहीमा, मेची क्राउन इटहरीमा, होटेल पौवा बुटवलमा सञ्चालनमा रहेका प्रमुख पाँचतारे होटेल हुन्।
नेपालमा चार तारे होटेलको संख्या ४० माथि पुगेको छ। होटेल अकामा, होटेल क्राउन इम्पेरियल, रामाडा एन्कोर काठमाडौं र एलफ्ट काठमाडौं राजधानीका प्रमुख चारतारे होटेल हुन्।त्यसैगरी पोखरामा वाटरफ्रन्ट रिसोर्ट, होटेल सरोवर र होटेल स्नोल्यान्ड, नेपालगन्जमा सिद्धार्थ सनराइज, धनगढीमा सिद्धार्थ होटेल र बुटवलमा होटेल पौवा सञ्चालनमा छन्। चारतारे होटेल काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, विराटनगर, जनकपुर, नेपालगनज, धनगढीलगायत प्रमुख सहरमा फैलिएका छन्। तीनतारे होटेलको संख्या पनि ४० कै हाराहारीमा छ। तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा केन्द्रित छन्। होटेल मानाङ, होटेल थामेल, होटेल वैशाली र होटेल मुनलाइट राजधानीका प्रमुख तीनतारे होटेल हुन्।
यस्तै होटेल ल्यान्डमार्क पोखरामा, होटेल मध्यवर्ती सौराहा (चितवन) मा र होटेल सिद्धार्थ लुम्बिनी क्षेत्रमा सञ्चालनमा रहेका प्रमुख तीनतारे होटेलमध्ये पर्छन्। प्रदेशगत रूपमा पाँचतारे होटेल सबैभन्दा धेरै बागमतीमा छन्। पर्यटन व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय होटेल ब्रान्डको आगमन, बढ्दो निजी लगानी र पर्यटन पूर्वाधार विस्तारसँगै तारे होटेलहरूको संख्या बढिरहेको छ।


