कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, मृतक संख्या ३ सय ७१ पुग्यो

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, मृतक संख्या ३ सय ७१ पुग्यो
Spread the love

काठमाडौं,  भदौ ३० (ई-रैवार) 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन् । कोरोना संक्रमणबाट काठमाडौंमा मात्रै १ महिला र तीन पुरुषको मृत्यु भएको छ । मृत्युहरु हुनेमा ८६ वर्षीया महिला, ३४, ९६, र ६६ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया र बारामा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार मकवानपुरमा ६१, कविलवस्तुमा ५८ वर्षीय पुरुष र रुपन्देहीमा ६४ वर्षीया महिलाको मृत्यु भएको छ ।

योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।