विपक्षी गठबन्धनका नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी

Spread the love

काठमाडौँ, जेठ १६ (ई-रैवार)

विपक्षी गठबन्धनका नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी रहेको हो ।

काँग्रेस सभापतिका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारी लगायत छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा रहेका छन् । एमालेका खनाल( नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् ।​ जसपाबाट अध्यक्ष उपेन्द्र यादव संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा छन् ।

संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको नेताहरुले बताएका छन् । राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षीले मोर्चाबन्दीको रणनीति समेत बनाउने जनाइएको छ ।

काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि काँग्रेस, माओवादी, माधव नेपाल पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए। तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे आज पनि सर्वोच्च अदालतमा बहस हुदैछ ।