काठमाण्डौं वैशाख १२(ई-रैवार)
जारी कोभिड–१९ को महामारी र त्यसबाट बच्न लगाईएको लकडाउनका बेला नेपाली सञ्चारक्षेत्रमा सिर्जना भएका समस्याहरुप्रति नेपाल प्रेस युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले शुक्रबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । विज्ञेप्तिमा नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरिएको छ ।
विज्ञेप्तिमा ‘केही ठुला सञ्चार प्रतिष्ठानले हालै सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको’ उल्लेख छ ।
यस्तो अवस्थामा समयमा सञ्चारकर्मीहरुलाई तलब उपलब्ध नगराउखा दैनिक गुजारा चलाउन कठिनाई हुनु र जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुनु सञ्चारक्षेत्रका लागि निकै दुखद पक्ष रहेको प्रेस युनियनको ठहर छ ।
‘सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने हो भने, लम्बिदै गएको लकडाउनका कारण भोली अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला ? विज्ञेप्तिमा प्रश्न गरिएको छ ।
युनियनले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिहरुलाई सम्पर्क गर्न आग्रह गर्दैै सक्दो सहयोग गर्ने समेत जनाएको छ ।
संचारकर्मीको अवस्थाप्रति सरकारलाई प्रेस युनियनको ध्यानाकर्षण


