बुढानीलकण्ठको बैठक सकियो : आजै उपयुक्त कदम चाल्ने, कांग्रेस संसदीय दलको बैठक बस्दै

Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार)

विपक्षी गठबन्धनको बैठक अपराह्न ३ बजे फेरि बस्ने गरी सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भेला भएर छलफल गरेका दलहरुले फेरि दिउँसो ३ बजे बैठक बस्न लागेका हुन् ।

कांग्रेस सभापति देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको बताइएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।

काँग्रेस नेता रामचन्द्र पौडेलले ३ बजे काँग्रेस संसदीय दलको कार्यालयमा सबै नेताहरु जम्मा भएर आवश्यक निर्णय लिने बैठकमा सहमति भएको बताए । बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय भएको उनको भनाइ छ ।

सरकारको कदमलाई आफूहरुले असंवैधानिक भनेको र त्यसबारे के गर्ने भन्नेबारे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर आवश्यक कदम चालिने उनले बताए । कांग्रेस नेता पौडेलले दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट निष्कर्ष निकाल्ने बताए ।

बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको बताइएको छ । यी सम्पूर्ण विषयमा छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ । संयुक्त बैठकअघि माधव नेपाल, माओवादी र जसपाको उपेन्द्र समूहबीच पनि छुट्टै छलफल हुनेछ ।