वित्तीय प्रणालीको १३ खर्ब ६७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा, थप २० अर्ब खिच्दै

वित्तीय प्रणालीको १३ खर्ब ६७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा, थप २० अर्ब खिच्दै
Spread the love

काठमाडौं असोज। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा पैसा राष्ट्र बैंकमा १३ खर्ब ६७ अर्ब थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्न तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो ।

रेमिटठ्यान्समा आएको निरन्तर सुधार तथा रसुवा बाढीका कारण आएको वैदेशिक सहयोगले वित्तीय प्रणालीमा अधिक तरलता थप बढेको हो । गत साउनमा मात्रै २ खर्ब १५ अर्ब रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा घट्न नदिने नीति लिएको छ । सो अनुसार बैंकले तरलता खिच्ने र पठाउने गर्दै आएको छ । तथापी पछिल्लो समयमा अधिक तरलता भएर खिचिएको मात्र छ ।केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलता निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिच्दै आएको छ । बिहीबार बैंकले २० अर्ब रुपैयाँ बराबरको एक महिना अवधिको निक्षेप संकलन उपरकण मार्फत तरलता खिच्न लागको छ । बैंकले यसअघि असोज २ गते ३० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको थियो ।राष्ट्र बैंकका अनुसार बिहीबारबार वित्तीय प्रणालीमा करिब ४८ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण केन्द्रीय बैंकले जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन्।निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।