काठमाडौं, वैशाख ६ (ई-रैवार)
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“माधव नेपालले इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैर संसदीय, अराजक हर्कत गरेका छन्,” ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “प्रचण्डको पाउमा एमाले पार्टी चढाउने ? कांग्रेसलगायत गैरकम्युनिष्टको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्छौँ भन्दै रोदन गरेका छन् ।”
नेपाल समूहले (माओवादी केन्द्रका अध्यक्ष) प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप छ ।
कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’ उनले पार्टीविरुद्ध यस्तो घातक कदम चाल्नेलाई कारबाही गर्ने बताएका हुन् ।
“कलंकको टीका केपी ओलीले लगाउनेछन् भनेर माधव नेपाल र प्रचण्डले भन्न भ्याएछन्,” ओलीको भनाइ थियो, “प्रचण्डको दुईमुखे प्रवृत्तिले समस्या आएको हो । एकातिर देशभक्तिको कुरा गर्ने अर्कोतर्फ आपराधिक र भ्रष्टाचार गर्ने ।”
प्रचण्ड र माधवकुमार नेपाललाई जनताले धूलो चटाउने ओलीले दाबी गरे । ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,’ ओलीको भनाइ छ ।


