काठमाडौं, जेठ ७ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’ “कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने मेरै नेतृत्वमा बनाऔं,” ओलीले भने ।
आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए । वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेको भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’ उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरे ।
‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस् । बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार । म त्यसलाई स्वागत गर्नेछु । त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ,’ उनले भने । वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि उनले दलहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू पनि सरकार बनाउन नसक्ने अनि विकल्पका लागि बाटो खोल्दा पनि दलहरुले विभिन्न भ्रम छरेको आरोप लगाए ।
अविश्वास प्रस्ताव दर्ता होला भनेर आफूले अढाइ महिनासम्म म पर्खिएको उनले बताए । ‘अविश्वास प्रस्ताव ल्याइएन, त्यसपछि मैले विश्वासको मत मागेँ,’ उनले भने, ‘त्यसो भए मलाई विश्वासको मत दिनुस् भनेँ । वैकल्पिक सरकार बन्न सक्दैन भने मलाई समर्थन दिनुस् भनेँ । त्यो नदिनका लागि घिनलाग्दो चक्रव्यूह बनाइयो ।’
उनले महाभारतकालीन ‘चक्रव्यूह’ को उदाहरण दिँदै सरकार ढाल्नका लागि नीति, विधि तोडिएको आरोप लगाए । ‘विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुभित्रै विग्रह, दलीय अनुशासन, लोकतान्त्रिक मूल्य मान्यता पनि छाडेर २७ जना मान्छे गुटगत हिसाबले, अनुशासनहीन ढंगले सरकार ढाल्ने खेलमा विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास भयो,’ उनले भने ।
उनले आफ्नै पार्टीका खनाल–नेपाल पक्षका सांसद विश्वासको मत लिने बेलामा संसदमा अनुपस्थित भएकोप्रति संकेत गर्दै प्रश्न गरे, ‘यी काम लोकतान्त्रिक मूल्यमान्यता अनुसारका हुन् ? कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् ।
‘उपधारा ५ अन्तर्गत सरकार बनाउन मार्गप्रशस्त गर्दा यो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुन्छ ?’ उनले भने, ‘कोही राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने कुरा गर्छन् । राष्ट्रपतिमाथिको आक्रोस किन ? यो गणतन्त्रविरुद्धको खेल हो । सरकारले जे सिफारिस ग¥यो, राष्ट्रपतिले त्यही गर्ने हो ।’ आफूले गरेको सिफारिसप्रति आफैँ जवाफदेही भएको उनले बताए ।
प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।


