काठमाडौं :
नेपाली कांग्रेसको १४ औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका हुन् ।
बैठकमा वरिष्ठ नेता पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् । छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए । तर पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी छाडेनन् ।
“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता डा. रामशरण महतले पत्रकारसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।” पौडेलले भने केही प्रतिक्रिया दिएका छैनन् ।
नेता पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका हुन् । नेता डा. महत भन्छन्, ‘रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमानजीले म पनि लड्छु भनेको छ । शेखरजीले लड्ने भनेको छ ।’ उनले अघि भने, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले ।’ एक नेताका अनुसार आकांक्षीहरुबीच सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेलले झोक्किएर यसो भनेका हुन् ।
नेता महतका अनुसार पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए ।
एउटा सबैसँग उमेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्नुपर्ने बताएका थिए । संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’
नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो । बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले भोलि पनि सहमतिका लागि आफूहरुले पहल गर्ने र त्यसपछि सभापतिका दावेदारहरुलाई भेटेर सहमतिका लागि दवाव दिने बताए । घिमिरेका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।
छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।शेखर कोइराला र डा।शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।


