धनगढी, वैशाख २८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा मंगलबार थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६६० नमूना परीक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १२३ जना,धनगढीबाहेक कैलालीका १४२ जना र अन्य जिल्लाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा आजसम्म ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन्।
सूचना अधिकारी श्रेष्ठले सेती प्रादेशिक अस्पतालबाट पछिल्लो २४ घण्टामा ९ जना निको भई घर फर्किएका छन् भने थप ४ जना अस्पतालमा भर्ना भएको बताएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।


