काठमाडौँ, वैशाख २८ (ई-रैवार)
नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउन सरकार बनाउन समर्थन जुटाउने निर्णय गरेको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।
बैठकले नेपालको संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि सबै दलहरुसँग समर्थन जुटाउनका लागि प्रयास गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै माधव कुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे ।
बैठकले जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए । जसपाभित्र त बिवाद छ नि? भन्ने पत्रकारको जिज्ञासामा नेता महतले भने ‘३० गते सम्मको समय अझै बाकी छ नि , परिस्थिति बदलिन सक्छ।’
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत सहभागी थिए ।
यसअघि आजै सभापति देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसंग पनि भेटवार्ता गरेका थिए । देउवाले आजको लागि निर्धारण गरिएको सर्वदलीय बैठक स्थगित गरेर पदाधिकारी बैठक राखेका हुन् ।


