देउवा र दाहालबीच सिंहदरबारमा छलफल, ७६(२) को सरकार दाबी गर्ने

देउवा र दाहालबीच सिंहदरबारमा छलफल, ७६(२) को सरकार दाबी गर्ने
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी भएको छ। नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिंहदरबारमा छलफल गरेका हुन ।

एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुले राजीनामा नदिने आजको बैठकमा उपस्थित नहुने निर्णय गरेपछि देउवा र प्रचण्डबीच सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा छलफलमा भएको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संविधानको धारा ७६(२) बमोजिमको सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक छ।

“प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि अविश्वासको प्रस्ताव दर्ता गरिरहनु परेन,” नेता वर्षमान पुनले भने, “हामीले संविधानको धारा ७६(२) बमोजिमको सरकारको दाबी गर्छौँ ।”

बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सहभागी थिए। आजै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।

कांग्रेसले पनि गत शनिबार संसदीय दलको बैठक गरी ओलीलाई विश्वासको मत नदिने बरू आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक छ। बैठकमा सहभागी हुन सांसदहरु नयाँबानेश्वरस्थित संसद भवन जाने क्रम जारी छ ।