काठमाडौं, चैत ३० (ई-रैवार)
निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा सोमबार बिहान उपस्थित भएका निजी स्कुल सञ्चालकहरुले यस्तो सुझाव दिएका हुन् ।
शिक्षा मन्त्रालयले आज बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अहिले कोरोना देखाएर तर्साइएको भन्दै अवस्था हेरेर बन्द गर्न सकिने विषयमा छलफल भएको बताए । सबैजसो सहभागीहरुले अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए । तर बन्द नै गर्नुपरेमा कक्षा पाँचसम्म मात्रै बन्द गर्ने उनीहरुको धारणा थियो ।
छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताए । कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार निर्णय गर्नुपर्छ उनको भनाइ थियो ।
‘संघीय सरकारमा केन्द्रिकृत मानसिकता छ, विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्नु हुँदैन,’ उनले भने । उनले विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने धारणा राखे ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने बताए । सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने बताए ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न सुझाव दिए । उनले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको बताए ।
स्वास्थ्य मन्त्रालयले भने ठूला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।
यस विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुअघि शिक्षा मन्त्रालयले छलफल गरेको हो । छलफलमा आएका सुझावहरुलाई जस्ताको तस्तै सरकार समक्ष पुर्याउने मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
अहिले पछिल्लो समयमा यूके भेरियन्ट भएका संक्रमितमध्ये ११ देखि २० वर्ष उमेर समूहका २२ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । १० वर्षमुनिका बालबालिका पनि ४ प्रतिशत संक्रमित रहेका छन् ।
दुई सातामा २७१ जना बालबालिका संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रले पनि विद्यालय कम्तिमा पनि तीनसाता बन्द गर्नुपर्ने सिफारिस गरेको थियो । तर सरोकारवालाले भने अहिले विद्यालय बन्द गर्नु नपर्ने बताएका छन् ।


