जनकपुरधाम : चार वर्षपछि प्रदेश २ को नाम तय भएको छ । प्रदेश सभा सचिवालयमा आज भएको मतदानबाट मधेस नाम दुई तिहाइले स्वीकृत भएको हो ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।
जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।
संसदीय विषेश समितिले नामकरण सम्बन्धी गरेको पहिलो प्रस्ताव ‘मधेस प्रदेश’को पक्षमा ८० मत खस्यो । मधेस नामकरणको विपक्षमा १९ जना सांसद उभिए । उपस्थित भएपनि उनीहरूले मधेस नामका लागि मतदान नै गरेनन् ।
प्रदेश सभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सांसद उपस्थित थिए । पाँच जना सांसद अनुपस्थित रहे ।संसदीय समितिले गरेको अन्य तीन प्रस्ताव निष्क्रीय भएको छ ।
स्थायी राजधानी जनकपुर
सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।
प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।


