एमालेले २२ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण, स्पष्टीकरणको कुनै अर्थ छैन- माधव पक्ष

Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार) 

नेकपा एमालेले आफ्ना २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ। पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।

अध्यक्ष केपीशर्मा ओलीले पार्टीको हितविपरीत विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका हुन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उता एमाले नेता माधवकुमार नेपाल पक्षको अहिले स्थायी समिति बैठक चलिरहेको छ। काठमाडौंको बुद्धनगरमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिएका छन् ।

स्थायी समिति सदस्य पन्तले भने ‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको छ ।