काठमाडौं, साउन ६ (ई–रैवार)
कोरोना खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज वेइजिङ उड्ने भएको छ । चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको हो ।
निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलका अन्सार गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भएपनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि जहाज आज त्यसतर्फ जान लागेको हो । निगमको बुधबार चार वटा डिपाचर हुने छ त्यसमा वेइजिङ पनि ११ बजे वाइडवडी ३३० बेइजिङतर्फ प्रस्थान गर्ने उनले बताए ।
निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ । यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, भने भोलि सोही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।
नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् । सरकारले चीन सरकारसँग (जिटुजी) मार्फत खोप ल्याएको हो ।


