काठमाडौँ, असार २१ (ई–रैवार)
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता नेपाल सहित २३ सांसदले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजे नेकपा एमाले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच करिव डेढ घण्टा कुराकानी भएको थियो ।
वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजे अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई बोलाएर छलफल गरेको हुन ।
ओलीको बोलावटपछि नेता रावल बालुवाटार गएपनि उनीहरुबीच के सम्वाद भयो भन्ने खुलेको छैन । बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका थिए ।
गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए ।
ओलीले भने सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिएका छन् । ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ ।
यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अर्थात ओलीले अव माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नेछन् ।
यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ ।
आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई नेता नेपालले सकारात्मक ठान्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भएको देखिएन ।
साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएनन् । यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएका हुन ।


