आइपिएल : पन्जाबविरुद्ध राजस्थानले पहिला बलिङ गर्ने

आइपिएल : पन्जाबविरुद्ध राजस्थानले पहिला बलिङ गर्ने
Spread the love

एजेन्सी,कार्तिक १४ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाबविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर बरुन आरोनलाई मौका दिँदा अंकित राजपुतलाई बेन्चमा राखेको छ । पन्जाबले भने टोलीमा परिवर्तन गरेको छैन ।

पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भएमा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बन्ने छ । पन्जाब आजको खेलमा पराजित भए अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ ।

राजस्थान आजको खेलमा विजयी भएमा अघिल्लो चरणको झिनो आशा कायमै रहने छ । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाब राजस्थानसँग ४ विकेटले पराजित भएको थियो । पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा तीन बल अगाडि पूरा गरेको थियो । आइपिएलमा यी दुई टोलीबीच कुल २० खेल भएको छ । जसमा राजस्थान ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित हुन पुगेको छ ।

राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, बरुन आरोन र बेन स्टोक्स

पन्जाबको प्लेइङ ११ ः लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मन्दीप सिंह, क्रिस गेल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, दीपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रबि बिश्रोई, मोहम्मद शामी र अर्शदीप सिंह ।