धनगढी : सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका छन्। नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रविण धितालले आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको बताएका छन् । उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ ।
यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा समेत सञ्चालन नभएका बताएको छ ।
मंगलबार कैलालीमा सक्रिय ६ दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो। मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो।


