धनगढी, आश्विन १ (ई-रैवार)
सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर धर्ना दिईएको छ। नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकारहरुले टाउको र हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन्।
कैलालीमा पछिल्लो पटक प्रेस स्वतन्त्रता हननका घटना बढेकाले घटनाका दोषीलाई कानूनी कारवाही गनुपर्ने माग गरे। समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो ।
आक्रमणमा संलग्नलाई पक्राउगरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ। आन्दोलन अन्तरगत भोली पनि जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चार सामाग्री सहित धर्ना र प्रर्दशन गर्ने कार्यक्रम तय भएको पत्रकार महासंघ कैलालीले जनाएको छ ।
पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म ¥याली र कोण सभा गरिएको थियो। सोमवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री त्रिलोभन भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो भने मंगलवार आन्तरिक मामिता तथा कानुन मन्त्रालयमा धर्ना दिइएको थियो।
सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।


