तातोपानी नाका खुलेपछि दसैंका सामान भित्र्याउन व्यवसायीलाई हतारो

तातोपानी नाका खुलेपछि दसैंका सामान भित्र्याउन व्यवसायीलाई हतारो
Spread the love

काठमाडौं कात्तिक । नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आइतबार नाकाको गेट खोलेको हो। यद्यपि, गेट खुले पनि समाचार तयार पार्दासम्म कन्टेनरको आवतजावत सुरु भइसकेको थिएन।

‘गेट खोलिएको छ, आज भर्खरैबाट नाका खुलेको हो। कन्टेनर आउजाउ भने भइसकेको छैन। एक घण्टा लाग्ला, हामी तयारी अवस्थामा छौं,’ तिमल्सिनाले भने।

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्‍याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो। तर, नाका बन्द गर्नुको कारण चिनियाँ पक्षले औपचारिक रूपमा स्पष्ट पारेको थिएन।नाका पुनः सञ्चालनमा आउने तयारीस्वरूप अध्यागमन, भन्सारलगायत सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा रहन शुक्रबार खबर आएको तिमल्सिनाले बताए।

बाह्रबिसे नगरपालिका–८ का वडाध्यक्ष तथा पुराना व्यवसायी विमलप्रसाद पौड्यालले नाका खुले पनि लामो समय सञ्चालन नहुने सन्देश चिनियाँ प्रशासनमार्फत पाएको बताए।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नाका पुनः सञ्चालनका लागि नेपाल र चीनका अधिकारीबीच पहल भइरहेका बेला व्यवसायीले पनि नाका खुल्ने अपेक्षा गरेका थिए। गत साता नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले तातोपानी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएका छन्। नेपालतर्फ लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लस्कर लागेको छ भने चीनतर्फ न्यालम क्षेत्रमा दसैंलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य तथा फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार नाका खुलेपछि दुवैतर्फका व्यवसायी कन्टेनर आवतजावत सुरु हुने प्रतीक्षामा छन्।

‘नेपालतर्फ कन्टेनरको लस्कर लागेको छ। चीनतर्फ पनि दसैंका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। तर, नाका केही दिनका लागि मात्रै अस्थायी रूपमा सञ्चालन हुने हो भने दसैंको मुखमा कसरी सामान भित्र्याउने भन्ने चिन्ता व्यवसायीलाई छ,’ उनले भने।खासा बजारको पुनर्निर्माण अन्तिम चरणमा पुगे पनि सीमावर्ती क्षेत्रको भौगोलिक जोखिमलाई ध्यानमा राख्दै चिनियाँ पक्षले तातोपानी नाका नियमित रूपमा सञ्चालन गर्ने विषयमा अझै निर्णय गरिसकेको छैन।

नाका नियमित रूपमा सञ्चालनमा आए दसैंका लागि चीनबाट आयात हुने लत्ताकपडा, फलफूललगायत सामान भित्र्याउन सहज हुने व्यवसायीको अपेक्षा छ। तर, नाका कति समय सञ्चालनमा रहने भन्ने स्पष्ट नहुँदा व्यवसायी अन्योलमा छन्।