कर्णाली प्रदेशमा शाही सरकार जोगियो, शाहीको पक्ष २२ मत

कर्णाली प्रदेशमा शाही सरकार जोगियो, शाहीको पक्ष २२ मत
Spread the love

सुर्खेत, वैशाख ३ (ई-रैवार)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ। जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो।  फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।

नेपाल पक्षधर सांसदले शाहीका पक्षमा मतदान गरेपछि कर्णालीको मुख्यमन्त्री हुने कँडेलको सपना तुहिएको छ ।