काठमाडौं, वैशाख ४ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संकटलाई निकास दिनु आवश्यक रहेको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका हुन् । उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत जिकिर गरे ।
बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए । उनले कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध गम्भीर आरोप लगाएका छन् । उनले सभामुख अग्नीप्रसाद सापकोटाले संसदमा अनैतिक काम गरिरहेको आरोप लगाएका हुन् । संसदमा सभामुख सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश पोख्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो,” नेता लोहनीले भने, “कोरोना नियन्त्रणका विषयमा हामीले ६/७ बुँदामा सुझाव दियौं ।”
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी भए ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने सहभागी छैनन् ।


