काठमाडौं, असोज ९ (ई–रैवार)
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।
आयोगले डा. केसीको स्वास्थ्य अवस्था स्थिर रहेको, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक-पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।
शुक्रबार आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
‘‘आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दछ,’’ विज्ञप्तिमा उल्लेख छ । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
भदौ २९ गते जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् । बिहीबार नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाको मागसहित आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।



