प्रधानमन्त्री ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री ओली-प्रचण्डबीच बालुवाटारमा छलफल जारी
Spread the love

काठमाडौं, असोज ९ (ई–रैवार)

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्काे अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी रहेको छ ।

बिहान १० बजेदेखि जारी छलफलमा मन्त्रिपरिषद् हेरफेर, पार्टी एकताका बाँकी रहेका काम, संवैधानिक नियुक्तिलाई पूर्णता दिने विषयमा सघन छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको हो ।

गत भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । असोज ४ गते पेरिसडाँडामा बसेको ६८औं सचिवालय बैठकमा नीतिगत छलफल पनि भएको थियो । मन्त्रिपरिषद् हेरफेरको समय नजिकिएको पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

त्यस्तै अध्यक्षद्वय ओली, प्रचण्डले संवैधानिक नियुक्ति र एकताका बाँकी काम टुंग्यान गृहकार्य गरिरहेको स्रोतको दाबी छ । नेकपामा ३२ विभाग, ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

केही केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकनका लागि पनि स्थायी कमिटी बैठकले अनुमति दिइसकेको छ । संवैधानिक निकायमा रिक्त रहेका ४० पद शीघ्र पूर्ति गर्न पनि असोज ५ गते बालुवाटारमा सकिएको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई अनुमति दिएको थियो ।