काठमाडौं, भदौ १ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेट गरेका छन् । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोले जनता मरिरहेको विषयमा सरकारको ध्यान नगएको प्रति आक्रोश व्यक्त गरेका हुन् ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अझै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्दै बाढी पहिरो समयमा सरकारले किन विपद् व्यवस्थापनका लागि कदम चाल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटवार्ताका क्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई मुलुकमा भइरहेको विपत्तिको विषयमा सरकार जानकारी छ कि छैन भनेर प्रश्न गरेको बताइएको छ ।
सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिका स्थानियले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु जस्तो गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनेर प्रधानमन्त्रीलाई सोधेका थिए। सो पहिरोमा करिब दुई दर्जन बढी स्थानिय नागरिकको ज्यान गएको छ भने कयौं बेपत्ता भएका छन्। देशको अन्य विभिन्न भागमा समेत बाढी पहिरोले जनधनको क्षति गरेको अवस्थामा सरकारको भुमिका सन्तोषजनक नदेखिएको उल्लेख गर्दै सभापति देउवाले ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन्।
कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको तथा संक्रमण तीब्र गतिमा बिस्तार भइरहेको सन्दर्भमा बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएको देउवाले बताएका थिए। कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन भन्ने प्रश्न गर्दै देउवाले आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न भएको ढिलाइ असन्तुष्टी पोखे।
त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी रहेकोमा ध्यानाकर्षण गराउँदै देउवाले निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता राख्नुपर्नेमा राजनैतिक पुर्वाग्रह बढी देखिएको बताए । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो नभएकोमा उनले गम्भिर असन्तुष्टी व्यक्त गरे। अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न देउवाले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएका छन्।
सभापति देउवाले यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष नेपाली कांग्रेसको तर्फबाट माग गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा सभापतिका साथमा केन्द्रीय सदस्य रमेश लेखक पनि थिए ।
“कोभिड–१९ नियन्त्रणका लागि सरकारले दिनुपर्ने जति ध्यान दिन सकेको छैन । संक्रमण बढिरहेको छ । ट्रेसिङ राम्रोसँग भइरहेको छैन । जनता धेरै चिन्तित छन् । सरकारको ध्यान जानुपर्यो भनेर हामीले प्रधानमन्त्रीसँग कुरा राख्यौं,” नेता लेखकले भने ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठकका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई बालुवाटार बोलाएका थिए । छलफलका क्रममा उनले देउवासँग संवैधानिक बैठक बसेर संवैधनिक नियुक्तिका बारेमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको नेता लेखकले जानकारी दिए ।
“प्रधानमन्त्रीले संवैधनिक परिषद्को बैठक गरेर संवैधनिक आयोगहरु नियुक्ति गर्ने बारेमा सरसल्लाह गरौं भन्नुभयो,” उनले भने, “ठीक छ सल्लाह गरौंला भनेर हामी फर्कियौं ।”


