प्रतिनिधिसभा विघटनको चौतर्फी आलोचना : यो प्रतिगमन भाग-२ हो, अब एक भएर लडौं’

Spread the love

काठमाडौं, जेठ ८ (ई-रैवार)

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट  विरोध सुरु भएको छ। प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गरेसंगै मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका हुन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ ।

नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको यो कदमलाई जालसाजीपूर्ण भनेका छन् । “यो एकाएक आएको होइन, अस्ति बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । सुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो,” उनले भने ।

उनले अहिलेको अवस्थामा कसरी चुनाव हुन सक्छ भन्दै प्रश्नसमेत गरे । “हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन,” उनले भने, “जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?”

उनको आक्रोश राष्ट्रपतिप्रति पनि थियो । “राष्ट्रपतिले जसरी अभिभावकको भूमिका खेल्नुपर्थ्यो, त्यो हुन सकेन । खोई संविधानको माया ? प्रधानमन्त्री त म नभएपछि कोही हुँदैन भन्ने लाइनमा थिए । उनी तानाशाही बाटोमै थिए, राष्ट्रपति किन सहयोगी बनेको ?,” उनको प्रश्न थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् । उनले कात्तिक २६ गते र मंसिर ३ गते चुनाव नहुने बरु संविधान मासिने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

“भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म,” उनले ट्विट गरेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऊँ  प्रतिवाद गरौं ।”

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मास्ने काम भएको बताएका छन्। यादवले मध्यरातमा भएको प्रतिगामी कदमले जनतालाई फेरि सडकमा आउन बाध्य बनाएको बताए।

‘अब हामी सबै मिलेर प्रतिगामी कदमका विरूद्ध लड्नुपर्छ। त्यसका लागि प्रतिगमनको बिरोधमा रहेका दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अब क्रान्तिकारी पक्ष मिलेर प्रतिगमनलाई परास्त गर्नुको विकल्प छैन।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान सामुहिक बलात्कारमा परेको आरोप लगाएका छन्। ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ!,’ उनले भने, ‘संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ।’ उनले सुरूमा भनेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !’

नेपाली काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन् ।

‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’ उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ।’ उनले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन् । उनले आज बिहान समाजिक सञ्जालमार्फत त्यस विरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् ।

“राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं ,” उनले लेखेका छन् ।

हिजो संविधानको धारा ७६ (५) अनुसार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी छिन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भङ्ग गर्ने सिफारिस गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् विश्वासको मत नलिएका, विश्वासको मत प्राप्त हुन सक्ने स्थिति छैन भनेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न मिल्छ भन्दै प्रश्न गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटनबारे यसपटक के निर्णय लिनेछ, त्यसले नै भावी बाटो तय गर्ने उनको भनाइ छ ।

विश्वासको मत नलिएका, त्यो प्राप्त हुन सक्ने स्थिति छैन भनेका, सरकार नेतृत्वको दावी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिस गर्न मिल्छ ? अध्यक्ष मिश्रले ४ प्रश्न गरेका छन ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए । ‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् ।

जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए । संविधान र लोकतन्त्र बचाउन उत्रने पुनले बताए । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं’, उनले भने ।

नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद१विघटन, पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए !

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् । नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्‍याएको टिप्पणी गरेका छन् । मध्यरात संसद् विघटन गर्दै मुलुकलाई अर्ली इलेक्सनतिर लगेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

“प्रधानमन्त्री ओली प्रतिगमनको दिशातिर जाँदैछन् । उनको पहिलो कदम अदालतले रोकिदिएको थियो । पुनः त्यो कदम ठिक थियो भन्ने पार्न संसद् विघटन गरेका छन् । नेपाली जनता सबै मिलेर यसको भण्डाफोर गर्नुपर्छ,” उनले भने- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यो भइरहेकाले यस कमदलाई कुनै हालतमा साथ दिन नहुने बताए ।

प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न सकेको भए अर्को प्रक्रियामा जानै पर्दैनथ्यो नि । यो हाकाहाकी संविधान मिच्ने, लोकतन्त्र उल्ट्याउने काम भइरहेको छ । यो कदमको जुनसुकै शब्दमा निन्दा गरे पनि कम हुन्छ,” उनले क्षोभ व्यक्त गरे ।

शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी थिइन् । मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो।