नेकपा सचिवालय बैठक : कार्यदललाई अनुमोदन, प्रधानमन्त्री ओली बैठकमा मौन, बामदेवले मागे अध्यक्षद्वयको राजीनामा !

नेकपा सचिवालय बैठक : कार्यदललाई अनुमोदन, प्रधानमन्त्री ओली बैठकमा मौन, बामदेवले मागे अध्यक्षद्वयको राजीनामा !
Spread the love

 

काठमाडौं, भदौ १ (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गर्दै सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदल गठनलाई सकरात्मक रुपमा लिदै अध्यक्षद्वयलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केही समययता पार्टीमा देखिएको समस्या समाधान र संकटको निकासका लागि सुझाव पेश गर्नका लागि गठन भएको कार्यदललाई जतिसक्यो छिटो प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ ।

कार्यदलले देशमा देखिएका समस्या र पार्टीमा देखिएको समस्या समाधान हुनेगरी पार्टी र सरकारलाई सक्षम पार्नेगरी सुझाव पेश गर्ने आशाका साथ शुभकामना दिएको श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओली सचिवालय बैठकमा मौन

सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि धारणा राखेनन् । उनले बैठकमा उठेका प्रश्नको जवाफ पनि दिएनन् ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा सुरुमा नमस्कार गर्दै भित्र प्रवेश गरेका थिए । त्यस लगत्तै बैठकमा उनले सुरुवातमै आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले चलाउनु हुन्छ मात्र भने । अन्तिममा सबैलाई धन्यवाद दिए ।

एक सचिवालय सदस्य भन्छन्, प्रधानमन्त्रीजी आजको बैठकमा बोल्नु भएन । उहाँले बैठकको सुरुवातमा आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले सुरु गर्नुहुन्छ भन्नुभयो । त्योबीचमा केही पनि बोल्नु भएन । अन्तिममा सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले आजको बैठकमा सबैले बोलेको कुरा डायरीमा टिपेका थिए । उपाध्यक्ष गौतमसहितका नेताले आफूसँग सम्बन्धित उठाएका विभिन्न प्रश्नको पनि ओलीले उत्तर दिएनन् । आजको बैठकमा ओली मौन बसे । आजको बैठक पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन गरेका थिए ।

बामदेवले मागे ओली र प्रचण्डको राजीनामा  !

बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाएका छन् । एक सचिवालय सदस्यका अनुसार उपाध्यक्ष गौतमले कार्यदल बनाएकोमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत मागे ।

उनले बैठकमा भने, के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् रु हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल बनाएकोमा मेरो आपत्ति छ ।

उपाध्यक्ष गौतमले अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको पनि आरोप लगाए । उनले भने,  हामी आफैले गर्न सक्ने काम किन गर्न सकेनौँ । विधि र प्रक्रिया अनुसार छलफल गरेर मात्र बनाउनु पर्थ्यो । असीमित अधिकार कस्ले दियो ? अब कार्यदलमा भएका साथीहरुलाई पनि सचिवालयमा ल्याउनु पर्यो । हामी भन्दा पनि ती साथीहरु माथि भए ।

अर्का सचिवालय सदस्यले उपाध्यक्ष गौतमले आफ्नो एजेण्डा भएकाले कार्यदल पनि आफ्नै नेतृत्वमा हुनु पर्थ्यो भनेर टिप्पणी गरेको जानकारी दिए । विधि र प्रक्रियाको कुरा गरे पनि गौतमले आफू कार्यदलको संयोजक बन्न नपाएकोमा असन्तुष्टि स्वरुप बैठकमा सबैजना असफल भएको टिप्पणी गरेका ती नेताको भनाइ छ ।