कोरोनाले विदेशमा १ सय ९१ नेपालीको मृत्यु, ७६ जनाको शव नेपाल ल्याउन बाँकी

कोरोनाले विदेशमा १ सय ९१ नेपालीको मृत्यु, ७६ जनाको शव नेपाल ल्याउन बाँकी
Spread the love

 

एजेन्सी, साउन २५ (ई-रैवार)

कोरोना संक्रमणका कारण विदेशमा १ सय ९१ नेपालीको मृत्यु भएको छ । ७६ जनाको शव नेपाल ल्याउन अझै बाँकी छन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्या १ सय ९१ पुगेको हो । विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, साउथअफ्रिका लगायत देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ ।

उनका अनुसार गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, यूएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलियामा रहेका १ सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीमा सामुहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा २४ नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन ।

हालसम्म नेपालसहित ५५ हजार ९२५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैबीच, विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।