काठमाडौं, साउन २५ (ई-रैवार)
देशका ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मनसुनी न्यूनचापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।


