नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर भएको दाबी, सर्वोच्चमा रिट दर्ताका लागी देउवाले गरे हस्ताक्षर

Spread the love

काठमाडौं, जेठ १० (ई-रैवार)

प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदमविरूद्ध सर्वोच्चमा रिट दर्ताका लागी कांग्रेस सभापति शेरबहादुर देउवाले रिटमा हस्ताक्षर गरेका छन। विपक्षी गठबन्धनका नेताहरुले संसद विघटन विरुद्ध अहिले केहिबेर पछि रिट दर्ताका लागि जाने तयारी गरेसंगै सभापति देउवाले रिटमा हस्ताक्षर गरेका हुन ।

सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ । सांसद निरा जैरुका अनुसार नेपाल समूहका ३० सांसदले रिट दायर गर्नका लागि हस्ताक्षर गरेका हुन ।

उनले हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको बताइन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।

सर्वोच्च अदालतमा अहिले केहिबेर पछि रिट हाल्ने प्रयोजनका लागि रिटमा हस्ताक्षर कर्ता सबै सांसदहरु सहित शिर्ष नेताहरु पनि जाने बताइएको छ। अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेका छन् भने विपक्षी गठबन्धनका अरु सांसद र शीर्ष नेताहरु पनि सिंहदरबारमा रहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउने र संसद पुनःस्थापनाको माग गर्दै अदालत जान लागेका हुन् ।

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ।