कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

कोरोना संक्रमण परीक्षणको रिपोर्ट अब १२ मिनेटमै
Spread the love

 

एजेन्सी, भदौ ११ (ई-रैवार)

विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण कायमै रहंदा सबैको ध्यान यसको परीक्षण र उपचारमै अडिएको छ । यो महामारीबाट निजात पाउन सरल र सहज रुपमा परीक्षण एवं औषधोपचारको ब्यवस्था भैदियोस भन्ने सबैले चाहेका हुन । खासगरी कोरोना संक्रमणको परीक्षण प्रणाली छिटो छरितो र सस्तो होस भन्ने सबैका चाहना छ । तर हाल प्रचलनमा रहेको परीक्षण प्रणाली त्यस्तो छैन ।

रिपोर्ट आउन धेरै समय लाग्ने र निजी स्रोतबाट परीक्षण गर्दा महंगो मुल्य तिर्नुपर्ने मु्ख्य गुनासा हुन । कोरोना परीक्षण छिटोछरितो र सरल रुपमा भैदियोस भन्ने सर्वसाधारणको यस्तो ईच्छा अझैसम्म पुरा हुन सकेको छैन । हामीहरु यस्तो समस्यामा अल्झिरहनु पर्दा स्कटल्याण्डमा भने १२ मिनेटमै कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ । यसका लागि त्यहाँको स्वास्थ्य सेवा विभागले लुमिराडीएक्स नामक कम्पनीसंग सम्झौता पनि गरिसकेको छ ।

अब त्यहाँ केवल १२ मिनेटमा कोरोना परीक्षण गर्ने विशेष खालको टेस्टिङ किटको प्रयोग गरिनेछ । ३ सय वटा र्यापिड टेस्टिङ मेसिन र ५ लाख परीक्षणका लागि ६७ लाख पाउण्ड खर्च गर्न स्कटल्याण्ड सरकार तयार भएको छ । स्कटल्याण्ड सरकारका मन्त्री ईवान मेक्कीले भने, “लुमिराडीएक्ससंग भएको सम्झौता अनुसार कम्पनीले हाम्रा स्वास्थ्य संस्थाहरुका लागि १२ मिनेटमा कोरोना परीक्षण गर्ने उपकरण दिनेछ । कोरोना संक्रमणविरुद्धको लडाँईमा यो गतिलै सहयोगी बन्नेछ ।”

यो मेशिनमा प्रयोग हुने विशेष प्रकारको स्ट्रिप स्कटल्याण्डमै बन्ने भएकाले रोजगारीको अवसर पनि सिर्जना हुने मन्त्री मेक्कीले बताए । यो मेशिनद्वारा गरिने परीक्षणमा नाकबाट लिइएको स्वाबको नमुनाको परीक्षण गरिन्छ । स्वाबमा रहेको कोरोना भाइरसको एन्टीजन प्रोटिनको परीक्षण यो मेशिनले गर्छ । यसको नतिजा केवल १२ मिनेटमा प्राप्त हुनेछ ।

यो परीक्षण उपकरण क्लाउड प्रणालीसंग जोडिएको हुन्छ । यसैको सहयोगमा स्वास्थ्यकर्मीहरुले भाइरस संक्रमण बारे छोटो समयमै जानकारी प्राप्त गर्न सक्छन । अहिलेसम्म प्रयोगमा आएका र्यापिड एन्टीजनहरुको तुलनामा यो प्रविधिले सर्वाधिक छोटो समयमै नतिजा दिने लुमिराडीएक्स कम्पनीले दावी गरेको छ । कम्पनीका चीफ एक्जीक्युटिभ रन ज्वानजिगरले भने, “यो उपकरणबाट गरिने कोरोना परीक्षणको रिपोर्ट छिटो आउने मात्रै हैन, शतप्रतिसत भरपर्दो र सटिक पनि हुन्छ ।

यसैका आधारमा चिकित्सकहरुले विरामीको उपचार गर्नेछन ।” लुमिराडीएक्सले यो सम्झौता अनुसार स्टरलिंगमा रहेको आफ्नै कारखानामा मेशिन र विशेष खालको टेस्टिङ स्ट्रिपको उत्पादन गर्नेछ । कोरोना परीक्षणमा प्रयोग गरिने मेशिनलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान र ल्याउन सकिने र स–साना क्लिनिक र मोबाइल अस्पतालमासमेत प्रयोग गर्न सकिने स्कटल्याण्ड सरकारको वेभसाइटमा उल्लेख छ ।