मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप
Spread the love

काठमाडौं, साउन २ (ई-रैवार)

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन ।

सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको बैंकका गभर्नर अधिकारीले वताएका छन ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ। कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।साथै नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असिमित अवधिसम्मका लागि कर्जाको सावाँ–ब्याज तिर्ने अवधि थप गरेको हो ।

मौद्रिक नीतिमार्फत् गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद २०७७ पुस, २०७७ चैत र २०७८ असार मसान्तसम्म कायम गरेको हो । जस अनुसार सामान्य प्रभाव परेको क्षेत्रका लागि पुस मसान्तसम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको हो ।

यसैगरी मध्यम प्रभाव परेका क्षेत्रले कर्जाको किस्ता तथा ब्याज चैत मसान्तसम्म तिरिसक्नु पर्नेछ । अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद एक वर्ष थप गरिएको छ । पर्यटन, होटललगायत क्षेत्रका लागि भने कर्जाको किस्ता तथा ब्याज तिर्ने अवधि भने त्योभन्दा बढी हुनेछ । कोभिड १९ प्रभाव अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्‍ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको  छ ।