सुदूरपश्चिम प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुग्यो
Spread the love

धनगढी ,कार्तिक ८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप  ८४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ७ सय ७३ जनाको नमुना परीक्षण गर्दा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ७३ जनाकोे नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ११ महिला र २४ पुरुष रहेका श्रेष्ठले बताए । उनीहरुको वडा भने खुलेको छैन् । यस्तै गोदावरी र गौरीगंगा नगरपालिकाका ३, ३ जना, टीकापुर नगरपालिकाका २ जना, कैलारी गाउँपालिकाका १ जना कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ र पुनर्वास नगरपालिकाका ३ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

जिल्ला अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल बझाङ्गर अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डडेल्धुरामा १७ जना, जिल्ला अस्पताल बझाङ्गमा ५ जना र अछामको कमल बजारमा ११ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ४ वटै प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा वढी कैलालीका ४४ जना रहेका छन् । त्यसैगरी कञ्चनपुरका ७ जना, बैतडीका २ जना, अछामका ३ जना, बझाङ्गका ५ जना, डडेल्धुराका ८ जना, डोटीका ७ जना र अन्य जिल्लाका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले पठाएको तथ्यांकमा रहेको छ ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ६ सय ४५  पुगेको छ ।  संक्रमित मध्ये ७ हजार ५ सय २६ जनाले कोरोना जितेका छन् भने ३१ जनाको मृत्यु भएको छ ।