काठमाडौँ : नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन ।
अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विराेध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् ।
एमसीसीबारे झलनाथ खनालले चर्काे विराेध गरिरहेका बेला माधव नेपाल भने मध्यमार्गी बाटाे खाेज्न लागेका छन् । नेकपा एसका अन्य मन्त्रीहरु पनि एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन् ।
बिहीबार कांग्रेससँग दुई चरण र माओवादी केन्द्रसँग भएको छलफलमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदको पद खारेजीलाई पूर्वशर्तका रुपमा अघि सारेको छन् । तर एमाले र कांग्रेसबीच छलफल बाक्लिएपछि माओवादी केन्द्र र समाजवादी झस्किएका छन् ।
एमालेका मागलाई सम्बोधन गर्न सकारात्मक हुन सकिने भनेर कांग्रेस नेताहरूले भनेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) झनै सशंकित बनेको छ। एमालेको अडानलाई कांग्रेसले साथ दियो भने आफ्नो पार्टी नरहन सक्ने चिन्ता एकीकृत समाजावादीका नेतामा छ।
नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ ।
बिहीबार मात्रै एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठक दुई-दुई पटक बस्नु र आफूहरूसँगको भेटमा एमाले नेताहरू लचिलो नबन्ने संकेत पाएपछि माओवादीले समेत आफ्नो अडान पुनर्विचार गर्न मिल्ने ठाउँ खोजेको स्रोतले बतायो।
एमालेसँग गठबन्धनको निर्णय नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्,’ स्रोतले भन्यो,’एमसिसी पारिमार्जनको कुनै बाटो खोज्न सकिन्छ कि भनेर छलफल सुरू भइसकेको छ।’
शुक्रबार बिहान माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकले एमसिसी परिमार्जन सहित पारित गर्नका लागि पहल गर्ने र गठबन्धनपनि नतोडिने बाटो खोज्ने निर्णय गरेको छ।


