काठमाडौँ, असार ७ (ई-रैवार)
नेपालमा कोरोना भाइरस संक्रमण डेल्टा भेरियन्टको नयाँ म्यूटेसन पुष्टी भएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा ‘अल्फा भेरियन्ट’ पुष्टि भएकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएको पठाएको थियो ।
जसमा ९ वटा नुमनामा के ४१७ एन नयाँ म्यूटेसन (भाइरसको उत्परिवर्तित रुप) पुष्टि भएको छ । साथै के ४१७ एन भेरियन्ट अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्विजरल्याण्ड लगायतका देशमा देखिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।
मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । जसमध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेशन भेटिएको हो ।
के ४१७ एन म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन लिएर आएकाले शरीरमा हुने एन्टीबडीमा आक्रमण गर्छ । अर्थात्, यो भेरियन्ट निकै शक्तिशाली रहेको विज्ञहरुले बताएका छन् । यो भेरियन्ट भारतमा केही दिन अगाडिमात्रै देखिएको थियो । यो भेरियन्टबारे अनुसन्धान भईरहेको छ ।


