माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने, आवश्यक परे सरकार छाड्ने

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिएका हुन ।

“यस एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” उनले भने- एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म पाँचदलीय गठबन्धन जोगाउन अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने सम्मका निर्णय भएका छन् ।

“विपक्षमा मतदान गर्दा गठबन्धन जोगिन सक्छ भने त्यहीअनुसार अघि बढ्ने । यो बीचमा धुव्रीकरण पनि हुनसक्छ । आवश्यक परे सरकार छाड्छौँ । एमसीसी बोकेर हिँड्न सक्दैनौँ,” उनले भने ।

‘अहिले जनमत एमसिसीको विपक्षमा छ। यस्तो बेलामा एमसिसी संशोधन नगरी पारित गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट अडान छ,’माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने,’सत्ता गठबन्धन अहिलेको आवश्यकता हो। प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ।’

माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसिसीको विरोधमा सडकमा उतारेको छ। तर एमसिसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र सुरू भएको छ।

बिहीबार एमाले नेताहरूसँग भएको छलफलमा समेत माओवादी नेताहरूले एमसिसी असफल गराउन सहयोग मागेका थिए। जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसिसी राष्ट्रघाती नभएको भन्दै प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्ने वातावरण बनाउन भनेका थिए।