काठमाडौं भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने बताएका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत भने सरकारले बिजुलीमा ५ प्रतिशत र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ४१ औं वार्षिकोत्सवमा उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारको मात्र लगानी नभई ठूलो पुँजी आवश्यक रहेको बताए । ‘प्राधिकरणको लगानी क्षमता र वित्तीय व्यवस्था स्वास्थ्य बनाउँदै पुँजी परिचालन गर्नुपर्छ,’ उनले भने ।
ऊर्जामन्त्री श्रेष्ठले प्राधिकरणका सबै कर्मचारीलाई २७ हजार वार्षिकोत्सव भत्ता दिनेसमेत घोषणा गरे । उत्पादित बिजुलीको खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्ययोजना समेत अघि बढाइएको उनको भनाइ छ । ‘दिगो र भरपर्दो बिजुली आपूर्ति चुनौती हो । अर्को वर्ष वितरण प्रणाली सञ्जालमा जोड दिनपुर्छ,’ उनले भने ।प्राधिकरणको आर्थिक तथा प्रशासनिक अधिकार विकेन्द्रीकरण गर्दै लैजाने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताए ।


