एमसीसीबारे जसपाको निर्णायक बैठक बस्दै

Spread the love

काठमाडौं : जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे आज निर्णय गर्ने भएको छ । आज बस्ने बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताएका हुन ।

शुक्रबारको बैठकमा एमसीसी सम्झौता अध्ययन गर्न कार्यकारिणी सदस्यहरुलाई वितरण गरिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले एमसीसी सम्झौताबारे निर्णय लिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

आजको बैठकमा सदस्यहरुले आ–आफ्ना धारणा राख्ने र पार्टीको आधिकारिक धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

जसपामा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चाहिँ पक्षमा उभिएका छन् । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ ।

सुरुदेखि नै यादव र भट्टराईबीचको विवादले फुट उन्मुख रहेको सो पार्टीमा एमसीसीले थप जटिलता पैदा गरेको नेताहरुको भनाइ छ ।कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले जानकारी दिए । बैठक हिजोबाट सुरू भएको हो ।