ओमानमाथि नेपालको ऐतिहासिक जित

Spread the love

काठमाडौँ, असोज ४ (ई-रैवार)

नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको हो ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे ।

ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्रले नेस्टर धम्बालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रनको योगदान दिए । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई इतिहासमा नेपालबाट यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।