सुर्खेत, वैशाख ४ (ई-रैवार)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुा ।
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरुसँग छलफल अगाडि बढाएका छन् ।
प्रमुख सचेतक नेपालीका अनुसार ‘प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नु भएको छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।
अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूहका चारजना सांसदले विश्वासको मत दिएका थिए ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि पनि मुख्यमन्त्रीले तत्कालै सरकार पुनर्गठन गर्न आवश्यक रहेको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्क मल्ल बताउँछन् । ‘मुख्यमन्त्रीज्यू मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटिसक्नु भएको छु,’ समन्वय विज्ञ मल्लले भने । कुन मन्त्रालय कसलाई दिने भन्नेबारे छलफल भइरहेको मल्लले बताए ।
कर्णालीका तीन सांसद एमालेबाट निस्कासित
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले पार्टीको ह्विप उल्लंघन गर्ने तीन जनालाई कारबाही गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज गुलाबजङ शाहले जानकारी दिए ।
“निजरूलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निस्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाइ शुक्रबारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णाली प्रदेशका चार जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो ।


