काठमाडौँ : सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।
परराष्ट्र मन्त्रालयले आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।
विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संगठन देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।


