शिक्षक महासंघको बजेटमा असहमति, निजामति सरह सेवा सुविधा माग

Spread the love

काठमाडौँ, जेठ १७ (ई-रैवार)

नेपाल शिक्षक महासंघले आर्थिक वर्ष २०७८/०७९को बजेटमा शिक्षा क्षेत्रका लागि छुट्याएको बजेटमा असहमति जनाएको छ । आर्थिक वर्ष २०७८/०७९को बजेटमा शिक्षा क्षेत्रका लागि छुट्याएको बजेटमा असहमति जनाउँदै नेपाल शिक्षक महासंघले ११ बुँदे माग राख्दै विज्ञप्ति जारी गरेको हो ।

बजेटमा असहमति जनाउँदै विज्ञप्तीमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याइनुपर्नेमा झन्झन् घटाउदै लगेको भन्दै विरोध गरिएको छ । निजामति सेवा सुविधा सरह शिक्षकको लागि स्वास्थ्य सुरक्षा बिमा, सन्तति छात्रवृत्ति, भ्रमण काज र शिक्षकको लागि छुट्टै अस्पतालको माग गरेको छ ।

यस्तै, प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले १५ हजार न्यूनतम मासिक पारिश्रमिक घोषणा गरेतापनि रकम उपलब्ध गराउन स्थानीय सरकारले पनि दायित्व वहन गर्ने भएकाले कार्यान्वयन हुनेमा शंका गरिएको छ ।

कोभिड खोप नदिएको अहिलेसम्म १५० शिक्षक कर्मचारीले ज्यान गुमाएको जिकिर गर्दै बजेटमा शिक्षकको लागि कोभिड खोप दिने बारे उल्लेख नगरेकोमा महासंघले आपत्ति जनाएको छ ।

कोभिडविरुद्धको खोप नलगाएसम्म कुनै पनि शिक्षक कर्मचारी विद्यार्थीको काममा उपस्थित नहुने यसअघि नै महासंघले उल्लेख गरेको भन्दै तुरुन्त खोपको प्रबन्ध गर्न माग गरेको छ ।

बजेट वक्तव्यमा सरकारले निजामती सेवामा सरकारले ६ महिना पदपूर्ति गराउने उद्घोष गरेपनि शिक्षा सेवा आयोगमा वैधानिक विधिबाट नियुक्तिको लागि सिफारिस भएका पदाधिकारीलाई समेत अकारण नियुक्ति दिन रोकेको भन्दै संघले नियमअनुसार सिफारिस भएका पदाधिकारी तुरुन्त नियुक्त गरी शिक्षक बढुवा र नयाँ शिक्षक भर्नाको प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।