काठमाडौं, असोज २० (ई-रैवार)
सत्तारुढ नेपाली काँग्रेसको प्रतिनिधि मण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली भारत जान लागेको हो ।
पार्टीका सहमहामन्त्री डा. महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भने- ‘काँग्रेसले हामीलाई तोकेको हो । पार्टीको प्रतिनिधित्व गर्दै हामी विहीबार जाँदैछौं ।’ नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए ।
उनका अनुसार काँग्रेस प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।
आफूहरु दिल्ली, बनारस र लखनौको भ्रमण गरेर फर्किने राणाले बताए । उक्त भ्रमणमा अहिलेसम्म भाजपाका नेताहरुसँग मात्र भेटघाट हुने कार्यक्रम रहेको छ । राणाले भने, ‘बाँकी को कोसँग भेट्ने भनेर त्यहाँ गएरपछि सेड्युल तय हुन्छ । भाजपाकै निमन्त्राणमा जाने भएकाले को कोसँग भेट्ने उहाँहरुले नै मिलाउनुहुन्छ ।’
गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । चौथाइवालेले भदौको पहिलो साता काँग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।
पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले बतायो ।
भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।


