काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ। राप्रपाले आज एक बिज्ञप्ति जारी गर्दै कालापनी, लिपुलेक र लिम्पीयाधुरा नेपाली भूमि भएकोले भारतले हाल बनाइरहेको सडक रोक्नुपर्ने र भारतको प्रतिवाद गर्नुपर्ने जनाएको हो ।
‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ।
कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ,’ पार्टीका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धन मौन रहनु दुस्खद् र रहस्यमय भएको विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न सरकारसँग माग गरेको छ।
भारतले लामोसमय अघिदेखि कालापानी लिपुलेकमा सडक निर्माण गरिरहेको छ । तर नेपाल सरकारले भारतलाई कुनैपनि प्रतिकृया दिएको छैन ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनाताहरुमाझ कालापानी लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको भन्दै खुलमखुल्ला अभिव्यक्ति दिएका थिए ।
त्यस्तैगरी राप्रपाले भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।


