जाजरकोट, मंसिर १२ (ई-रैवार)
जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका-१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ ।
बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ। बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।
चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।मृतकहरुमध्ये २ जनाको सनाखत भइसकेको छैन।


