एमाले महाधिवेशन : चुनावी कार्यतालिका अझै बनेन, नेताहरू छलफलमा

Spread the love

सौराहा, मंसिर १२ (ई-रैवार) 

नेकपा एमालेको दशौं महाधिवेशनको चुनावी कार्यतालिका अझै बन्न सकेको छैन । आज बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि केन्द्रीय निर्वाचन समिति भने अध्यक्षमण्डलको निर्देशन कुरेर बसिरहेको छ ।

शनिबार बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव भएअनुसार केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्य सम्बन्धी प्रस्ताव पेस गर्न जिम्मेवारी दिइएको थियो । यद्यपि, त्यस्तो प्रस्ताव अहिलेसम्म प्राप्त नभएको र निर्वाचन नै गराउने कि नगराउने भन्नेबारे पनि प्रस्ट निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति अन्योलमा परेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि छलफलमा छन् । हिजो पहिलो दिनको बन्दसत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्षका आकांक्षी भीम रावल उमेदवारीबाट पछि नहट्ने अडानमा छन् ।

निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने अवस्थामा उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता, मतदान लगायतका प्रक्रियाको तयारी गर्न समय लाग्ने केन्द्रित निर्वाचन समितिको भनाइ छ । यतिबेलासम्म निर्वाचन गर्ने कि सहमतिमै नेतृत्व चयन गर्ने भन्नेबारे प्रस्ट नभएको र अध्यक्षमण्डलबाट कुनै निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति के गर्ने भन्नेबारे नै अन्योलमा देखिन्छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार अध्यक्ष मण्डलको निर्देशन नआएकै कारण निर्वाचन प्रक्रियासम्बन्धी काम सुरु हुन सकेको छैन । अध्यक्ष मण्डलले निर्देशन दिनासाथ प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

नेताहरू छलफलमा

केपी शर्मा ओलीले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । ओलीले आजको बन्दसत्रअघि अध्यक्षका आकांक्षी भीम रावलसँग पनि छलफल गर्ने तयारी गरेको बताइएको छ ।

बन्दसत्रमा प्रस्ताव गर्ने केन्द्रीय सदस्यहरूको नामावलीका विषयमा उनले सहमति जुटाउने प्रयास गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि विभिन्न पदमा आकांक्षीहरू धेरै हुँदा सहमतिमा सकस भएको हो ।

हिजो पहिलो दिनको बन्दसत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्षका आकांक्षी भीम रावल उमेदवारीबाट पछि नहट्ने अडानमा छन् ।