धनगढी, असार १ (ई-रैवार)
सात वटै प्रदेशले प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट सार्वजनिक गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, कर्णाली प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट सार्वजनिक गरेका हुन ।
यस्तो छ सातवटै प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट :
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोडको बजेट घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।
बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन् । चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ ।
मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् । उनले अगामी वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा विस्तार सुधार वर्षका रुपमा मनाउँदै पूर्वाधार विकासका लागि २ अर्ब ५८ लाख बजेट विनियोजन गरेको बताए ।
यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी ५ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।
प्रदेश १ प्रदेश सरकारद्वारा ३२ अर्ब ४६ करोडको बजेट, पूर्वाधारमा १३ अर्ब घोषणा
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो ।
आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।
स्थानीय तह बित्त हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको उनले प्रदेशसभमा जानकारी दिए । मन्त्री आङ्बुहाङले कुल बजेटको ४६.३ प्रतिशत पुँजीगत, ४३.६ प्रतिशत चालु र १० प्रतिशत स्थानीय तह बित्त हस्तान्तरणमा खर्च हुने बताए ।
प्रदेश २ प्रदेश सरकारद्वारा ल्यायो ३३ अर्ब ७९ करोडको बजेट घोषणा
सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिए ।
बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले जानकारी दिए ।
प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड, प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि २ करोड, नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशसभामा मन्त्री यादवले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारद्वारा बजेट ३० अर्ब ३ करोड घोषणा
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो ।
चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ ।
वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ । बजेटको स्रोततर्फ राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत ३० करोड र आन्तरिक राजश्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको छ ।
संघमार्फत वित्तीय समानीकरण अनुदान ७ अर्ब रुपैयाँ ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रुपैयाँ छ ।
बाँकी न्यून बजेट पूर्ति गर्न चालु आर्थिक वर्षमा असारसम्म खर्च नभई बाँकी रहने अनुमानित २ अर्ब १० करोड उपयोग गरिने पोखरेलले बताए । प्रदेशले आन्तरिक ऋणबाट १ अर्ब र संघीय सरकारमार्फत १ अर्ब ऋणमार्फत बाँकी अपुग २ अर्ब रुपैयाँ पूर्ति गरिने बजेट पोखरेलले सार्वजनिक गरेका छन् ।
प्रदेशले आन्तरिक स्रोत वृद्धिका लागि करको दायरा फराकिलो बनाउने बताएको छ भने सवारी साधन करको दर हेरफेर गरिएको छ । अन्य प्रदेशमा दर्ता भएका सवारी साधन २०७९ असार मसान्तसम्म गण्डकीमा दर्ता स्तानान्तरण गर्न आएमा दर्ता गर्दा लाग्ने शुल्कमा ७५ प्रतिशत छुट दिई पहिलो वर्ष नवीकरणमा ५० प्रतिशत छुट दिने नीति प्रदेशले लिएको छ ।
कोभिड–१९ र यसका असर कम गर्ने गरी बजेटका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
लुम्बिनी प्रदेश सरकारद्वारा ४० अर्ब ९५ करोडको बजेट घोषणा
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको हो ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ । आगामी आवको बजेट चालु आवको भन्दा साढे ३ अर्बभन्दा बढी हो । आर्थिक वर्ष २०७८र७९ मा ३७ अर्ब ३५ करोडको बजेट थियो ।
बजेटमा स्वास्थ्य, कृषि, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ । महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन, अक्सिजनको आपूर्ति सहज बनाउन, निःशुल्क उपचारको व्यवस्था मिलाउन, स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चौधरीले जानकारी दिएका छन् ।
प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यका क्षेत्रमा राजधानीको गुरुयोजना, जग्गा प्राप्ति, ल्याण्ड पुलिङ, पूर्वाधार निर्माण लगायतका काम गर्न पनि बजेट छुट्टाइएको छ ।
कर्णाली प्रदेश सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन ।
पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।
यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।
बागमती प्रदेश सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट घोषणा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुंगेलले बजेट भाषणमा घोषणा गरेका छन् ।
प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ । सरकारले बजेट मार्फत् मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेका छन् ।


